Rule 47
पुरस्कार सम्बन्धी व्यवस्था
(१) कसैले कुनै मालवस्तु चोरी निकासी वा चोरी पैठारी गर्न लागेमा वा गरेमा त्यसरी चोरी निकासी वा चोरी पैठारी गर्न लागेको सुराकी दिने वा पक्राउ गर्ने व्यक्तिलाई सो मालवस्तु चोरी निकासी वा चोरी पैठारी गरेको वा गर्न लागेको प्रमाणित हुन आएमा त्यस्तो मालवस्तु लिलाम बिक्री गरी प्राप्त हुन आएको रकमबाट मुद्दाको अन्तिम किनारा भएपछि देहाय बमोजिम पुरस्कार दिइनेछः–
(क) चोरी निकासी वा चोरी पैठारी गर्न लागेको सुराकी दिनेलाई दश प्रतिशत,
तर राष्ट्रसेवक र निजको परिवारको सदस्यले सुराकी बापतको पुरस्कार पाउने छैन।
(ख) चोरी निकासी वा चोरी पैठारी गर्न लागेको मालवस्तु मानिस सहित पक्री पेश गरेकोमा तीस प्रतिशत,
…………
(ग) चोरी निकासी वा चोरी पैठारी गर्न लागेको मालवस्तु मात्र पक्री पेश गर्नेलाई बीस प्रतिशत ।
(२) यस नियमबमोजिम कुनै कर्मचारीलाई सुराकी वापतको पुरस्कार दिंदा भन्सार कार्यालयले भुक्तानी गरेको भरपाईका साथमा निजको परिचय पत्रको प्रतिलिपि अनिवार्य रूपमा राख्नु पर्नेछ । सुराकी वापतको पुरस्कार प्राप्त गर्ने व्यक्ति कर्मचारी नभई अन्य व्यक्ति भएमा भरपाइका साथमा निजको परिचय खुल्ने प्रमाणको प्रतिलिपि अनिवार्य रूपमा राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पुरस्कार पाउने व्यक्ति एकभन्दा बढी भएमा यस नियमावलीबमोजिम पुरस्कारवापत पाउने रकम दामासाहीले दिइनेछ ।
(४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस नियमावली विपरीत प्राप्त हुन आएको सुराकीलाई पुरस्कार दिइने छैन ।
स्पष्टीकरणः यस नियमको प्रयोजनका लागि “मालवस्तु लिलाम बिक्री गरी प्राप्त हुन आएको रकम” भन्नाले मालवस्तु लिलाम बिक्री गर्दा लिलामी मूल्यमा प्रचलित कानून बमोजिम जोडिने अन्य कर शुल्क आदि समावेश नभएको मालवस्तुको लिलामी मूल्य वा बिक्री मूल्य वापतको रकमलाई जनाउँछ ।
(५) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सुन, चाँदी वा जवाहिरात सम्बन्धी मुद्दामा सुराकी दिने र त्यस्तो मालवस्तु मानिस सहित वा मानिस बाहेक पक्री पेश गर्ने व्यक्तिलाई पुरस्कार दिंदा त्यस्तो मालवस्तु लिलाम वा विक्रीबाट प्राप्त भएको रकमको दश प्रतिशत ........ रकम पुरस्कार दिइनेछ ।